रुससँगको युद्ध अन्त्य गर्ने विषयमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युरोपेली नेताहरू र यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको महत्वपूर्ण बैठकमा जेलेन्स्कीको पहिरनले विशेष ध्यान खिच्यो।
परम्परागत क्यामो-ग्रीन पहिरनको सट्टा उनले कालो सैनिक-शैलीको सुट लगाएका थिए, जसले आफ्नो पहिचान कायम राख्दै अमेरिकाको औपचारिकताको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरेको देखायो।
गत फेब्रुअरीमा भएको तनावपूर्ण बैठकमा ट्रम्पले उनको पहिरनको आलोचना गरेका थिए, त्यसपछि ह्वाइट हाउसले यो भेटमा सुट लगाउन अनुरोध गरेको थियो।
भेटका क्रममा सञ्चारकर्मी ब्रायन ग्लेनले जेलेन्स्कीलाई सुटमा प्रशंसा गर्दै “यू लुक फ्याबुलस इन द्याट सूट” भने, जसलाई ट्रम्पले पनि समर्थन गरे। हाँसोमज्जासहितको छोटो संवाद अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भएको छ।
यसै अवसरमा जेलेन्स्कीले आफ्नी पत्नी प्रथम महिला ओलेना जेलेन्स्काको तर्फबाट अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई युद्धबाट प्रभावित यूक्रेनी बालबालिकाको हितमा गरेको सक्रिय योगदानप्रति धन्यवाद पत्र हस्तान्तरण गरे।
बैठकमा यूरोपेली संघ, जर्मनी, फ्रान्स, बेलायत, इटाली, फिनल्याण्ड र नाटोका उच्चस्तरीय प्रतिनिधिहरू पनि सहभागी थिए।