Logout

विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभा समितिमा छलफल, पूर्ण छात्रवृत्तिमा अझै मतभेद

2.9k Shares

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ। विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ। गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयका विद्यार्थीलाई दिइने पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न नसकेकाले आजको बैठकमा पनि सो प्रतिवेदन पेस हुँदैछ।

यसअघि आइतबार बसेको समन्वय परामर्श उपसमितिको बैठकले पनि पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन सकेको थिएन। निजी विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने दाबी गर्दै आएका छन् भने समितिका सदस्यहरूले छात्रवृत्तिमा शिक्षा शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शैक्षिक सामग्रीसँगै पोशाक र आवास पनि समावेश हुनुपर्ने धारणा राखिरहेका छन्।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोशाक, यातायात, र विद्यालयमा उपलब्ध आवासीय सुविधा लगायत सबै शुल्क तथा सुविधा समेटिएको छ। तर यसअघि बैठकमा आवास र पोशाक हटाउने प्रस्ताव राखिए पनि सदस्यहरूले नमानेपछि सहमति हुन सकेको थिएन। यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन्।

यस्तै, विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघले पनि असन्तुष्टि जनाएको छ र भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार