नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन/एनप्याब्सनले आन्दोलन कार्यक्रम घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर प्रतिक्रिया दिएको छ। संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न र विद्यालय बन्द नगर्न चेतावनी दिएको हो।
विज्ञप्तिमा विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने र विद्यालय बन्द गरेर गरिने कुनै पनि आन्दोलनप्रति असहमति रहेको उल्लेख गरिएको छ। साथै, आगामी दिनमा यस्तो स्थिति नआओस् भनेर सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।
विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ भने प्याब्सन/एनप्याब्सनले आजदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। यद्यपि, विद्यालय बन्द गर्ने निर्णय भने हालसम्म भएको छैन। त्यसअघि नै अभिभावक संघले यस्तो अवस्था आउन नदिन चेतावनी दिएको हो।
