नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्लो फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै आज देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेको छ।
संघले असार १७ गतेदेखि चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कालोपट्टी बाँधेर सेवा प्रदान गर्न आह्वान गरेको थियो। आज भने आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ।
संघले चिकित्सकीय मुद्दाहरूको सुनुवाइ मेडिकल काउन्सिलमा मात्र सीमित गर्न कानुन संशोधनको माग गरेको छ र आवश्यक परे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
पछिल्ला केही सातामा उपभोक्ता अदालतले उपचारमा लापरवाही भएको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो। अदालतले ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र त्यहाँका चिकित्सकलाई १ करोड ४५ लाख, तथा ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको थियो।