सुनसरी । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड देवानगञ्ज शाखाद्वारा देवानगञ्ज गाउँपालिका–२ स्थित सामुदायिक भवनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले संस्थाले वित्तीय पहुँच नपुगेका विपन्न परिवारलाई ऋण सुविधा र सिपमूलक तालिममार्फत आर्थिक उन्नतिमा टेवा पुर्याएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले ऋण लिएपछि समयमा किस्ता बुझाउने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सभापतित्व विजय कुमार मण्डलले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष कुमारी विभा देवी यादव, पूर्व वडाध्यक्ष मजलुम मियाँ, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्ट, केन्द्र प्रमुखहरू रून्ची मेहता र सविता देवी मेहता लगायतको उपस्थिति थियो।
संस्थाका जिल्ला प्रमुख जिसु हास्दाले उद्घोषकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा शाखा प्रमुख भागवतलाल मण्डल, कर्मचारीहरू, पत्रकार तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै विभागीय प्रमुख मनोज कुमार शर्माले संस्था स्वास्थ्य शिविर, प्रेसर र सुगर परीक्षण, नवजात शिशु तथा मृतक व्यक्तिको नाममा वृक्षारोपण कार्यक्रम, सिपमूलक तालिम, अध्ययन भ्रमण, पुनःस्थापना योजना र 'पढ्दै कमाउँदै' कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
केन्द्र प्रमुख सविता देवी मेहताले आफ्नो अनुभव सुनाउँदै जीवन विकाससँग आबद्ध भएदेखि अन्यत्र ऋण लिन जानु नपरेको र प्राप्त तालिममार्फत घरपरिवारको खर्च धान्न सकेको बताउनुभयो। साथै, सबै सदस्यलाई समयमै किस्ता तिर्न अनुरोध गर्नुभयो।
संस्थामा हाल देवानगञ्ज गाउँपालिकाबाट करिब ३६,००० सदस्य आबद्ध रहेको जानकारी दिइएको थियो। कार्यक्रममा ७ जना अति विपन्न परिवारका बालबालिकालाई एक वर्षका लागि सम्पूर्ण शैक्षिक खर्च संस्थाले व्यहोर्ने घोषणा पनि गरिएको छ।