
सुनसरी । मधेशी आयोगका केन्द्रीय अध्यक्ष माननीय विजय दत्त तथा केन्द्रीय सदस्य माननीय विजय कुमार गुप्ता मंगलबार सुनसरी जिल्ला स्थित देवानगञ्ज गाउँपालिका वडा -१ मा रहेका बाघेश्वरी डेरी उद्योग प्रा.लि. को निरीक्षण गर्न पुग्नुभएको छ।
निरीक्षणका क्रममा अध्यक्ष दत्तले डेरी उद्योगको उत्पादन प्रक्रिया, सरसफाइ तथा व्यवस्थापनबारे जानकारी लिनुका साथै उद्योगमा उत्पादित दहीको स्वाद चाख्दै उत्कृष्ट गुणस्तरको प्रशंसा गर्नुभयो। उहाँले स्थानीयस्तरमा उत्पादन र व्यवसाय प्रवर्द्धन गर्न डेरी उद्योगको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसको थप प्रवर्द्धनका लागि आवश्यक पहल गरिने बताउनुभयो।
स्थानीय व्यवसायलाई हौसला दिने उद्देश्यले गरिएको यो भ्रमणलाई डेरी उद्योगका संचालक पिन्टु मेहताले सकारात्मक रूपमा लिँदै, यसरीनै समय-समयमा निरीक्षणले थप ऊर्जा प्रदान गर्ने बताउनुभयो।
अध्यक्ष दत्तले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले स्थानीय व्यवसायलाई प्राथमिकता दिनुपर्ने औंल्याउँदै स्थानीयस्तरमा डेरी सञ्चालनले रोजगारी सिर्जना गर्ने र युवाहरूलाई स्वदेशमै काम गर्ने अवसर उपलब्ध गराउने धारणा व्यक्त गर्नुभयो। साथै, स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने र केन्द्र सरकारले पनि उद्योग प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
बाघेश्वरी डेरी उद्योग प्रा.लि. का सम्पूर्ण परिवारले अध्यक्ष दत्त तथा सदस्य गुप्तालाई विशेष धन्यवाद ज्ञापन गरेका छन्। उद्योगका प्रतिनिधिहरूले मधेशी आयोगको यो भ्रमणले स्थानीय डेरी व्यवसायलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।