देशभर सञ्चालन हुन लागेको ‘सरसफाइ सप्ताह २०८३’ को शुभारम्भ आज स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल परिसरमा स्वयं सरसफाइ गरेर गरेकी छन्। बिहान अस्पताल पुगेकी मन्त्री मेहताले आफ्नै हातले कुचो समातेर फोहोर सफा गर्दै अभियानको औपचारिक उद्घाटन गरेकी हुन्।

सरसफाइ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, अस्पताल प्रशासनका पदाधिकारी तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सरकारको लक्ष्य सार्वजनिक कार्यालय तथा सेवा केन्द्रहरूलाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउनु रहेको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार आजदेखि जेठ १ गतेसम्म देशभरका संघीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालयहरूमा विशेष सरसफाइ अभियान सञ्चालन हुनेछ। मार्गदर्शनमा कार्यालय परिसरको नियमित सफाइ, शौचालय सुधार, फोहोरको वर्गीकरण तथा व्यवस्थित व्यवस्थापनलाई अनिवार्य गरिएको छ।

विशेषगरी सेवाग्राहीको अत्यधिक चाप हुने अस्पताल र सार्वजनिक कार्यालयहरूमा महिला तथा अपाङ्गतामैत्री शौचालय निर्माण, हात धुने स्थानमा साबुनको व्यवस्था तथा ढल निकास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

सरकारले अभियानलाई केवल एक साताको कार्यक्रममा सीमित नराखी दीर्घकालीन रूपमा प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोकिने, मासिक मूल्यांकन गरिने तथा कार्यालय वरपरको क्षेत्र समेत सफा राख्नुपर्ने व्यवस्था गरिएको छ। अभियानले सरकारी निकायहरूमा स्वच्छ कार्य वातावरण कायम गर्दै सेवाग्राहीको सन्तुष्टि र कर्मचारीको कार्यक्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
