मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। रामचन्द्र पौडेल ले बालेन्द्र शाह लाई प्रधानमन्त्रीको रूपमा शपथ गराउने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।
शपथअघि नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह आज अपराह्नका लागि तय गरिएको छ। समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ।
प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी रहेको बुझिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोहीअनुसार पार्टीले बिहीबार बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गरेको हो।
झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका शाहले ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए।
यसअघि बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसक्नुभएको छ।
यससँगै देशमा नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।