सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका वडा नं.–४ को सिमादेखि देवानगञ्ज गाउँपालिका वडा नं.–१ (साविक मध्यहर्षाही–५) सम्म कालोपत्रे सडक निर्माण कार्य भोलिबाट सुरु हुने भएको छ। करिब २.३ किलोमिटर लम्बाइको उक्त सडक केन्द्र सरकारको एक वर्षे योजनाअन्तर्गत करिब ३ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको हो।

देवानगञ्ज गाउँपालिका र प्रदेश सांसद तथा समाजिक विकास मन्त्री रामप्रसाद मेहताको पहलमा सडक निर्माण कार्य अघि बढाइएको जनाइएको छ। ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र निर्माण कार्य जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडक निर्माण सुरु हुनुअघि आज उक्त सडकको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका लागि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता, प्रदेश सांसद तथा समाजिक विकास मन्त्री रामप्रसाद मेहता, साथै सडक डिभिजन कार्यालयका प्रतिनिधिहरूको टोली पुगेको थियो।

स्थानीयवासीका अनुसार सडक निर्माण भएपछि देवानगञ्ज र हरिनगर क्षेत्रका बासिन्दालाई आवतजावत तथा यातायात सेवामा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।