ट्रेन्डिङ

Logout

राजेन्द्र महतोको जमानत जफत

2.8k Shares

प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका विभिन्न निर्वाचन क्षेत्रमा धेरै उम्मेदवारको जमानत जफत भएको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो समेत जमानत जोगाउन असफल भएका छन्।

निर्वाचन कानुनअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। उम्मेदवारी दर्ता गर्दा बुझाइएको जमानत रकम राज्यकोषमा जाने प्रावधान रहेको छ।

सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका महतोले आवश्यक १० प्रतिशत मत ल्याउन नसकेपछि उनको जमानत जफत भएको हो। उक्त क्षेत्रमा ७७ हजार ७८९ मत खसेकोमध्ये ७२ हजार ३८१ मत सदर र पाँच हजार ८ मत बदर भएको थियो। जमानत जोगाउन सात हजार २३९ मत आवश्यक परे पनि महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरेका छन्। यसै क्षेत्रमा नेकपाका उम्मेदवार तथा पूर्वमन्त्री महेन्द्र राय यादव भने जमानत जोगाउन सफल भएका छन्।

सर्लाही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार तथा संविधानसभा सदस्य शम्भुलाल श्रेष्ठ बाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रमा नेकपा एमालेका मनोजकुमार देवकोटा, पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह र जसपा नेपालका रामप्रकाश चौधरीलगायतको जमानत जफत भएको हो। यहाँ ७९ हजार २०७ मत खसेकोमा पाँच हजार ३६५ मत बदर भएको थियो। कुल सदर ७३ हजार ८४२ मतमा जमानत जोगाउन सात हजार ३८५ मत आवश्यक थियो।

यस्तै सर्लाही क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्र जमानत जोगाउन सफल भएका छन्। उक्त क्षेत्रमा ८२ हजार १०८ मत खसेकोमा चार हजार २६८ मत बदर भएको थियो। जमानत जोगाउन सात हजार ७८४ मत आवश्यक रहेकामा श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका विनोदकुमार खनाल, निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीलगायतको जमानत जफत भएको छ।

सर्लाही क्षेत्र नम्बर ४ मा भने नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादव मात्र जमानत जोगाउन सफल भएका छन्। यहाँ ७७ हजार ९३१ मत खसेकोमा चार हजार ५६९ मत बदर भएको थियो। जमानत जोगाउन सात हजार ३३७ मत आवश्यक थियो। कांग्रेसका उम्मेदवार थापाले २२ हजार ८३१ मत र एमालेका यादवले नौ हजार ३४३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नेकपाका डा. रजनिस राय र जसपा नेपालका पूर्वमन्त्री रामेश्वर राय यादवलगायत उम्मेदवारको जमानत जफत भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार