काठमाडौं। संघीय राजधानी नजिकै भए पनि विकासमा पछाडि परेको काभ्रेपलाञ्चोकलाई अघि बढाउने प्रतिबद्धतासहित भुम्लु गाउँपालिका–२, सिम्थलीका ३० वर्षीय पत्रकार उमेश थापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्।
‘ठेकी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका थापाले विगतका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम नगर्दा जिल्ला शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनजस्ता क्षेत्रमा पछाडि परेको बताएका छन्।
लामो समयदेखि पत्रकारितामार्फत बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका थापाले अब स्वयं नेतृत्वमा पुगेर सुधार गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। उनका अनुसार देश निर्माणको प्रमुख आधार सुशासन र इमान्दार नेतृत्व हो। भदौ २३ र २४ गते भएको आन्दोलनको उल्लेख गर्दै उनले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे।
घरदैलो अभियानमा व्यस्त थापा मत माग्नुभन्दा पनि मतदाताका समस्या र सुझाव सुन्न केन्द्रित छन्। चुनाव जितेपछि महिनैपिच्छे सार्वजनिक सुनुवाइ गर्ने, जनताको घरदैलोमै पुगेर समस्या समाधानमा लाग्ने र पारदर्शी ढंगले काम गर्ने उनको प्रतिबद्धता छ। सरकारले सदनमा उठाएका विषयको सुनुवाइ नगरे जनतासहित सडकमा उत्रिने चेतावनीसमेत उनले दिएका छन्।
स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, औद्योगिकीकरण र काभ्रेमै रोजगारी सिर्जना आफ्नो प्रमुख एजेण्डा भएको थापाको भनाइ छ।
वैदेशिक रोजगारीलाई बाध्यता नभई विकल्प बनाउने र जिल्लामै गुणस्तरीय शिक्षा–स्वास्थ्यको व्यवस्था मिलाउने उनको योजना छ। आफूलाई मतदान गर्नु भनेको जनता स्वयं जित्नु भएको उनले दाबी गरेका छन्।