जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुरको घरदैलो तथा रोड–शो कार्यक्रम तीव्र रूपमा अगाडि बढिरहेको छ । उनका चुनावी कार्यक्रमहरूमा दिनप्रतिदिन जनसहभागिता बढ्दै जाँदा क्षेत्रमा उत्साहपूर्ण माहोल देखिएको छ ।
घरदैलो अभियानसँगै डा. ठाकुरले विभिन्न स्थानमा रोड–शो सञ्चालन गरिरहेकी छन् । हजारौं समर्थक तथा स्थानीय नागरिकको सहभागितामा सुरु भएको रोड–शो महोत्तरी–३ का विभिन्न बस्ती तथा बजार क्षेत्रमा पुगेको छ ।

परिवर्तित राजनीतिक परिवेशमा सक्षम, शिक्षित तथा ऊर्जावान युवाहरू समाज रूपान्तरणमा नेतृत्व गर्नुपर्छ भन्ने आवाज बढिरहेका बेला डा. ठाकुरको उम्मेदवारीले स्थानीय नागरिकमा नयाँ आशा र उत्साह थपिएको बताइएको छ ।
चुनावी भेटघाटका क्रममा उनले आफू जन्मेको, हुर्किएको र मधेशी समाजले भोग्दै आएको पीडालाई नजिकबाट अनुभूति गरेको उल्लेख गर्दै समाजको उत्थान नै आफ्नो राजनीतिक लक्ष्य रहेको बताएकी छन् । उनले आर्थिक समृद्धि, सामाजिक विकास तथा समग्र देशको उन्नतिका लागि प्रतिबद्ध भएर काम गर्ने धारणा पनि व्यक्त गरेकी छन् ।

त्याग र सेवामा विश्वास राख्ने बताउँदै उनले आफ्नो चिकित्सा पेशाबाट प्राप्त अनुभवलाई राजनीति मार्फत समाजसेवामा रूपान्तरण गर्ने लक्ष्य लिएको बताइन् । विशेषगरी महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार तथा महिलाको जीवनस्तर सुधारमा उदाहरणीय काम गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ । यसले जसपा नेपालको महिला सशक्तिकरण अभियानलाई समेत थप मजबुत बनाउने उनले विश्वास व्यक्त गरिन् ।
डा. ठाकुरप्रति बढ्दो जनसमर्थनले उनी विजयतर्फ अग्रसर हुँदै गएको संकेत देखिएको स्थानीयको भनाइ छ ।
महोत्तरी–३ अन्तर्गत जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा, पतैली, चौरीया, विष्णुपुर तथा जलेश्वर–८ लगायतका क्षेत्रमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको छ ।