Logout

प्रतिनिधिसभा निर्वाचनका सबै सामग्री महोत्तरी आइपुग्यो, तयारी अन्तिम चरणमा

793 Shares

महोत्तरी — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रसहितका सबै निर्वाचन सामग्री जिल्लामा आइपुगेको छ। मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, क्रमसंख्यासहितका मतपेटिका, सुरक्षा सिल, रातो तथा कालो स्टिकर, रंगीन र सादा फोटोसहितको मतदाता नामावलीलगायत ८१ प्रकारका सामग्री प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन आयोग नेपालबाट प्राप्त समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र नेपाली सेनाको सुरक्षा स्कर्टिङमार्फत चारवटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा वितरण गरिएको छ। परिकौलीस्थित गोरखनाथ गणका सेनानी रामप्रसाद लामिछानेका अनुसार क्षेत्र नं. १ (बर्दिबास), २ (बनौटा), ३ (जलेश्वर) र ४ (रामगोपालपुर) मा रातिसम्म मतपत्र वितरण सम्पन्न भइसकेको छ।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झालेका अनुसार यसअघि प्राप्त अन्य मतदान सामग्रीसमेत सबै निर्वाचन क्षेत्रमा पठाइसकिएको छ भने सामग्री व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ। निर्वाचनमा खटिने कर्मचारीको नियुक्ति तथा परिचालन प्रक्रिया पनि निरन्तर जारी रहेको उहाँले जानकारी दिनुभयो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा ५३९ मतदान अधिकृत, ५३९ सहायक मतदान अधिकृत, १ हजार ६०८ सहायक कर्मचारी र ५३९ कार्यालय सहयोगीसहित कुल ३ हजार ६०८ कर्मचारी परिचालन गरिएको छ। खटाइएका मतदान अधिकृत तथा सहायक अधिकृतलाई निर्वाचनसम्बन्धी आवश्यक प्रशिक्षणसमेत प्रदान गरिएको छ।

प्रशिक्षणका क्रममा निर्वाचन निर्देशिका, नियुक्तिपत्र बुझेदेखि मतपेटिका बुझाउने समयसम्मको जिम्मेवारी, मतदान केन्द्रमा अपनाइने प्रक्रिया तथा अनुसूचीबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई नमुना मतदान अभ्याससमेत गराइएको जिल्ला निर्वाचन अधिकारी झाले बताउनुभयो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्राप्त सामग्री जिल्लाका २५८ मतदानस्थलमा रहेका ३ अस्थायी केन्द्रसहित ५३९ मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ। जिल्लाको सबैभन्दा ठूलो भूभाग समेटिएको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ५९ मतदानस्थलका १३० मतदान केन्द्रमा सामग्री वितरण अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो।

निर्वाचन सामग्री समयमै जिल्लामा आइपुगेसँगै महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार