महोत्तरी–३ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ। जनता समाजवादी पार्टी नेपालकी उम्मेदवार डा. मिनाक्षी ठाकुर (छाता छाप) को घरदैलो अभियानमा महिला तथा जेन्जी युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको घरदैलो कार्यक्रम अन्तर्गत एकडारा गाउँपालिका वडा नं. ३ र ४ मा मतदाताको उल्लेखनीय उपस्थिति देखिएको हो। स्थानीय स्तरमा आयोजित कार्यक्रममा सर्वसाधारणले फूलमाला, खादा तथा गम्छासहित स्वागत गर्दै “मतदान गरेर जिताउँछौं” भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए, जसले चुनावी माहोल थप तातेको संकेत दिएको छ।

कार्यक्रममा मधेश प्रदेशका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय र जिल्ला तहका नेताहरूको समेत उपस्थिति रहेको थियो। घरदैलो अभियानका क्रममा डा. ठाकुरले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता प्रमुख मुद्दामा मतदातासँग प्रत्यक्ष संवाद गरेकी थिइन्।

स्थानीय स्तरमा बढ्दो सक्रियता र जनसमर्थनले महोत्तरी–३ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। समर्थकहरूले बढ्दो जनसहभागितालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा छाता छापको पक्षमा सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्।