महोत्तरी — जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ तथा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुरले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएकी छन्। उनले दलान छलफल, नागरिकसँग प्रत्यक्ष संवाद तथा रोड शो कार्यक्रममार्फत मतदातासँग भेटघाटलाई निरन्तर विस्तार गर्दै लगेकी छन्।
जेन्जी आन्दोलनपछि राजनीतिमा युवा नेतृत्वको आवश्यकता बढेको आवाजलाई मध्यनजर गर्दै चिकित्सक पेशाबाट राजनीतिमा प्रवेश गरेकी डा. ठाकुर जसपा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी हुन्। उनी आफ्नो अभियानमार्फत युवाको सहभागिता र नयाँ राजनीतिक सोचलाई प्राथमिकतामा राख्दै अघि बढिरहेकी छन्।

डा. ठाकुरले सञ्चालन गर्दै आएको दलान छलफल, नागरिक संवाद र रोड शो कार्यक्रममा विशेषगरी युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता देखिँदै आएको छ। स्थानीयका अनुसार, उनी महोत्तरी–३ का लागि नयाँ अनुहार नभई लामो समयदेखि सामाजिक तथा सार्वजनिक गतिविधिमार्फत नागरिकबीच परिचित व्यक्तित्व हुन्।

उनको उम्मेदवारीपछि महोत्तरी–३ मा विशेषगरी युवावर्गमा आकर्षण बढ्दै गएको देखिएको छ। जेन्जी युवाहरू स्वस्फूर्त रूपमा उनको चुनावी अभियानमा सहभागी हुँदै आएका छन्, जसले चुनावी माहोललाई थप सक्रिय बनाएको छ।

राजनीतिमा औपचारिक रूपमा प्रवेश गर्नुअघि नै विभिन्न सामाजिक कार्यक्रममार्फत नागरिकसँग निरन्तर जोडिँदै आएकी डा. ठाकुरलाई अब जनप्रतिनिधिका रूपमा संसदमा देख्न चाहेको प्रतिक्रिया स्थानीय मतदाताबाट आउने गरेको छ।
