ट्रेन्डिङ

Logout

गगन थापाको प्रतिबद्धता: “काँग्रेसले प्रतिज्ञा पूरा गर्छ, अब देश बनाउने समय”

2.9k Shares

नेपाली काँग्रेसका सभापति **गगन थापा** ले काँग्रेसले सार्वजनिक गरेका प्रतिज्ञाहरू सत्ता वा प्रतिपक्ष जहाँ रहे पनि कार्यान्वयन गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

जनकपुरधाममा बुधबार आयोजित नेपाली काँग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले पार्टीले नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्यसहित प्रतिज्ञा गरेको बताएका हुन्। उनले अब प्रश्न उठाउने युवाले ज्यान गुमाउन नपर्ने र आक्रोशमा राज्यका संरचना जलाउनुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता काँग्रेसले लिएको उल्लेख गरे।

थापाले भ्रष्टाचार, सेवाग्राहीले घुस दिनुपर्ने बाध्यता, किसानले मल नपाउने समस्या तथा लामो लाइन बसेर सेवा लिनुपर्ने अवस्थालाई परिवर्तन गर्ने प्रतिज्ञा काँग्रेसले गरेको बताए। यी विषय केवल भाषण वा दस्तावेजका लागि नभई कार्यान्वयनका लागि ल्याइएको उनले स्पष्ट पारे।

उनका अनुसार स्वास्थ्य, कृषि, शिक्षा, महिला सशक्तीकरणलगायत २७ वटा क्षेत्रमा केन्द्रित भएर काँग्रेसले प्रतिज्ञापत्र तयार गरेको छ। देश निर्माण कुनै एक दलले मात्र सम्भव नहुने भन्दै उनले सबै राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि र नागरिकलाई समेटेर “टिम नेपाल” निर्माण गरी सुशासन स्थापना र गरिबी अन्त्य गर्ने लक्ष्य राखिएको बताए।

मधेश प्रदेशको वित्तीय संरचना असन्तुलित भएको उल्लेख गर्दै थापाले मिटरब्याज, लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताए। सहकारी तथा वित्तीय ठगी नियन्त्रण मात्र नभई मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने योजना काँग्रेसको रहेको उनले बताएका छन्।

उनले आगामी पाँच वर्ष देशका लागि निर्णायक हुने भन्दै समय खेर नफाल्ने प्रतिबद्धता समेत व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार