महोत्तरी क्षेत्र नं. ३ बाट चुनावी दौडमा युवा नेताको महत्वाकांक्षा
महोत्तरी: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव अजय झाले आगामी निर्वाचनमा महोत्तरी क्षेत्र नं. ३ बाट आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरको उम्मेदवारी नरहेको अवस्थामा आफू पनि दाबेदार रहेको उनले स्पष्ट पारेका छन्।
"मेरो लगानी दाजु राम कुमार शर्मा वा पूर्वमन्त्री हरिनारायण यादवभन्दा कम छैन," केन्द्रीय सचिव झाले भनेका छन्। मधेस आन्दोलनदेखि नै सक्रिय रहेका झा विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेका युवा नेता हुन्।
मधेस आन्दोलनको योद्धा
२०६४ सालको पुष १३ गतेदेखि तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध झा मधेस आन्दोलनका दौरान दर्जनौं पटक घाइते भएका र प्रहरी हिरासतमा परेका थिए। पूर्व उपराष्ट्रपति परमानन्द झाको भाषा प्रकरण आन्दोलनका क्रममा नेपाल प्रहरी क्लबमा हिरासतमा रहँदा प्रहरीसँगको झडपमा उनी गम्भीर घाइते भएका थिए।
शैक्षिक योग्यता र अनुभव
डन बोस्को काठमाडौंबाट एसएलसी र +२ उत्तीर्ण गरेका झाले पूर्वाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जनस्वास्थ्यमा स्नातक र राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट जनस्वास्थ्य स्वास्थ्यमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति विज्ञानमा पनि स्नातकोत्तर गरेका उनले विभिन्न गैरसरकारी संस्थामा काम गरेको अनुभव समेत राख्छन्।
जनआधार र राजनीतिक पृष्ठभूमि
पिपरा गाउँपालिका वडा नं. १ एकरहियाका झा २०६४ को निर्वाचनमा आफ्नो गाउँको मतदान केन्द्रमा १००% मतदान गराउन सफल भएका थिए। २०८९ को निर्वाचनमा मधेसी कोटामा समानुपातिक सिफारिस भएका उनी लाखौं कमाउने पेशा छोडेर पूर्णकालीन राजनीतिमा प्रवेश गरेका हुन्।
पार्टी अध्यक्ष महन्थ ठाकुर पनि यही क्षेत्रका हुन् र दुई पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। यस पटक अध्यक्ष ठाकुरको उम्मेदवारी नरहे आफू चुनावी मैदानमा उत्रने झाको स्पष्ट धारणा छ।