राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रुपक घिमिरे समेटिएका छन्। उनी हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य हुनुका साथै तनहुँ–काठमाडौं सम्पर्क समितिको संयोजकको जिम्मेवारीमा रहेका छन्।
काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस र एमडी (डर्माटोलोजी) अध्ययन पूरा गरेका डा. घिमिरेले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिमसमेत लिएका छन्। उनी नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य हुन् र चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन्। काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र उत्तरदायी बनाउने पहल गरेका थिए।
युवामैत्री राजनीतिका समर्थक डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति पनि हुन्। स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेन–जी आन्दोलनका अगुवामध्ये एकका रूपमा चिनिन्छन्।
यसैबीच, रास्वपाले पुस १२ र १३ गते RSP Mobile App मार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।
