ट्रेन्डिङ

Logout

एमाले उपमहासचिव पदमा ६ जनाबीच प्रतिस्पर्धा, राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए

2.8k Shares

नेकपा (एमाले) को उपमहासचिव पदका लागि अन्तिम नामावलीमा ७ जनाको नाम समावेश भए पनि वास्तविक प्रतिस्पर्धा अब ६ उम्मेदवारबीच मात्र हुने भएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका नेता राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा सीमित भएको हो।

पार्टी केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेपछि गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। अन्तिम नामावलीमा उनको नाम यथावत् रहे पनि उम्मेदवारी फिर्ता लिएकाले मतदान प्रक्रियामा उनी सहभागी हुने छैनन्।

अब उपमहासचिव पदका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरीबीच प्रतिस्पर्धा हुनेछ। यीमध्ये रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल अध्यक्ष ओली समूहका उम्मेदवार हुन् भने आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई र वैजनाथ चौधरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धामा छन्।

अध्यक्ष ओलीले आफूलाई पदाधिकारी सूचीमा समावेश नगरेको भन्दै राजेन्द्र गौतमले सोमबार उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। तर नेतृत्वसँगको परामर्शपछि उनले मंगलबार बिहान उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार