नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने गम्भीर षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
उनका अनुसार प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच केही दिनअघि भएको भेटमा ओलीको गिरफ्तारीबारे सल्लाह–मसला भएको दाबी छ।
बस्नेतका अनुसार ‘जेनजी समूह’ का नाममा भएको संवाद, हिमेश पन्तलगायतका व्यक्तिहरूले फैलाएको गलत प्रचार तथा “केपी ओली गिरफ्तार” भन्ने विषयमा गरिएको मिडिया ट्रायल एउटै उद्देश्यतर्फ संकेत गर्छन्। उनका शब्दमा, “एमाले महाधिवेशन भाँड्ने, भ्रम सिर्जना गर्ने, सहभागिता कमजोर पार्ने र अन्तिममा ओलीको लोकप्रियता क्षीण गराउने योजनाअन्तर्गत यी गतिविधि भइरहेका छन्।”
उनले चेतावनी दिँदै भने, “एमाले कुनै पनि षड्यन्त्र चिर्न सक्षम छ। अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने प्रयास कदापि सफल हुँदैन। पार्टी आफ्नो अडानबाट पछि हट्दैन।”
बस्नेतले नेता इश्वर पोखरेलको पछिल्ला अभिव्यक्ति प्रति पनि प्रश्न उठाएका छन्। पोखरेलले पत्रकार सम्मेलनमा “अध्यक्ष आयोगमा बयान दिन जानुहुन्न? म भए जान्थे, उहाँ पनि जानुपर्छ” भनेको प्रसंगलाई औंल्याउँदै बस्नेतले यसैबीच अर्को खेल–षड्यन्त्र बाहिरिएको जिकिर गरेका छन्।
समग्रमा, बस्नेतले हाल देखिएका विभिन्न घटनाक्रमहरू एउटै लक्ष्य—केपी शर्मा ओलीलाई कमजोर पार्ने योजनाको हिस्सा भएको दाबी गरेका छन्।