ट्रेन्डिङ

Logout

बालबालिकाको प्रतिभा उजागर गर्न तीन तहको सहकार्य अनिवार्य : प्रदेश प्रमुख भट्ट

3.4k Shares

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गीण विकासका लागि परिवार, विद्यालय र राष्ट्र– तीनै तहबाट समान सहयोग आवश्यक रहेको बताएका छन्। पोखरामा नेशनल प्याब्सन कास्कीले आयोजना गरेको दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले बालबालिकामा सानै उमेरदेखि लुकेका प्रतिभालाई पहिचान गरी प्रोत्साहन दिनु आवश्यक रहेको जनाए।

प्रदेश प्रमुख भट्टका अनुसार आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताको प्रतिस्पर्धाले भरिएको छ। सही वातावरण र प्रेरणा पाए बालबालिकाले समाजमा अभूतपूर्व योगदान दिन सक्ने उनले बताए।
उनले भने, “बालबालिकाको विचार सुन्ने, जिज्ञासालाई सम्मान गर्ने र गल्तीलाई सिकाइको अवसरका रूपमा लिन सघाउने संस्कृति विकास गर्न ढिला गर्नु हुँदैन।”

उनका अनुसार यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता, जिम्मेवारी र सकारात्मक व्यक्तित्व निर्माणमा प्रभावकारी योगदान पुर्‍याउँछन्। प्रतिभा पहिचान र प्रशंसाले उनीहरूमा सिक्ने चाहना बलियो बनाउनुका साथै आफ्नै क्षमताप्रति गर्व बढाउने उनले उल्लेख गरे।

भट्टले विद्यालयहरू बालबालिकाको सिर्जनशीलता विकासमा अझ सजग हुनुपर्नेमा जोड दिँदै भने, “हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई सही दिशामा अघि बढाउन सहयोग र प्रेरणा दिनुपर्छ।”

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले प्याब्सन कास्कीले सञ्चालन गर्दै आएका गतिविधि उत्कृष्ट रहेको बताए।
उनले प्रत्येक विद्यार्थीमा कुनै न कुनै विशेष क्षमता हुने उल्लेख गर्दै ती प्रतिभा पहिचान गर्न सके मात्र विद्यार्थीले आफ्नो क्षेत्रमा विशिष्टता बनाउन सक्ने धारणा व्यक्त गरे। न्यौपानेका अनुसार अबको शिक्षा जीवन, जगत र आधुनिक प्रविधिसँग घनिष्ठरूपमा जोडिनुपर्नेछ।

महोत्सवमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक भाष्करराज पन्त, नेशनल प्याब्सनका महासचिव प्रकाश खड्का, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल तथा वड्स एकेडेमीकी नीतु भण्डारीलगायतले आफ्ना भनाइ राखे।

कास्की तथा आसपासका जिल्लाका निजी र सामुदायिक विद्यालयका विद्यार्थी तथा अभिभावकले महोत्सवको अवलोकन गरेका छन्।
एन प्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीबीच सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान–प्रविधि, हस्तकला (पात, पराल, चोयाबाट बनाइएका सामग्री) र अंग्रेजी वक्तृत्वकलालगायतका विभिन्न प्रतिस्पर्धात्मक प्रस्तुति हुनेछन्।

 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार