काठमाडौं । आगामी २०८२ सालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६७ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले मङ्सिर २१ देखि २३ गतेसम्म दल दर्ताका लागि समयसीमा तोकेको थियो ।
आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार दर्ताको दोस्रो दिन सोमबार मात्रै ३४ वटा दलको निवेदन प्राप्त भएको हो । यसअघि आइतबार ३३ वटा दलले निवेदन दिएका थिए । मङ्सिर २३ गते मङ्गलबार दिउँसो ४ बजेसम्म दल दर्ताको समयसीमा कायम गरिएको उहाँले जानकारी दिनुभयो ।
आयोगले मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म दर्ता भएका दलको नामावली सार्वजनिक गर्नेछ । त्यसपछि राजनीतिक दलले पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । उम्मेदवारको अन्तिम बन्दसूची माघ २० गते बिहान १० देखि साँझ ५ बजेसम्म प्रकाशित गरिने आयोगको कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोग पदाधिकारीको मङ्सिर २० गते बसेको बैठकले सो निर्णय गरेको हो ।
यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने ‘कट अफ डेट’ तोकिएको छ ।
मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन तथा नामावलीमाथि दाबी–विरोधका लागि आयोगले मङ्सिर २६ गतेसम्मको समयसीमा निर्धारण गरेको छ । त्रुटि सच्याउन अनलाइन प्रणालीमार्फत निवेदन, सूचना तथा उजुरी दिन आयोगले सबै सरोकारवालालाई आग्रह गरेको छ ।