नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मिति २०८२ मंसीर २२ गते लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गर्यो ।
२. बौद्ध धर्ममा विशेष केन्द्रित हुँदै यस कार्यक्रममा भारत र नेपाल दुवैको समृद्ध सांस्कृतिक सम्पदा र परम्पराको उत्सव मनाइएको थियो। यस कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्ती मगर; भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) श्री मुनु महावर; लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गर्नु भएको थियो । कार्यक्रममा नागरिक समाजका सदस्यहरू, शिक्षाविद्हरू, वरिष्ठ भिक्षुहरूका साथै लुम्बिनी विकास कोषका सदस्यहरु सहितको उत्साहजनक सहभागिता रहेको थियो।
३. कार्यक्रममा भारत र नेपाल दुवै देशका चर्चित कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। श्री सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा छ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो। साँझमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ द्वारा परम्परागत संगीत प्रस्तुति पनि समावेश थियो।
४. यस महोत्सवको एक भागको रूपमा मिति २०८२ मंसीर २२ गतेको बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया-नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी” शीर्षकको एक शैक्षिक गोष्ठी आयोजना गरिएको थियो । यस गोष्ठीले भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न र जनता-जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न बौद्ध सम्पदाको महत्त्वबारे आफ्ना अन्तर्दृष्टि साझा गरेका थिए।
५. यस कार्यक्रमले दुई राष्ट्रबीचको बलियो सांस्कृतिक र ऐतिहासिक बन्धनलाई बढावा दिएको छ।
काठमाडौं
२०८२मंसीर २२