जेनजी’ आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन्। अभियन्ता प्रकाश शर्माको रिहाइ माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका उनले अन्तरिम सरकारले आन्दोलनका मूल मागहरू सम्बोधन गर्न नसकेको आरोप लगाए।
ढुंगानाले निर्वाचनपछि बन्ने सरकारले देश विकासमा ठोस काम गर्ने अपेक्षा आफूहरूले नराखेको उल्लेख गर्दै पुराना दलका नेताहरू फेरि सत्तामा फर्कने सम्भावनाप्रति चिन्ता व्यक्त गरे। अन्तरिम सरकार देश विकासमा असफल बन्दै गएको दाबी गर्दै उनले प्रधानमन्त्री कार्कीलाई राजीनामा दिनुपर्ने माग गरे।
प्रकाश शर्माले पनि पछिल्ला दिनमा आन्दोलनका माग बेवास्ता भएको भन्दै प्रधानमन्त्री तथा गृहमन्त्रीको राजीनामाका लागि पर्चा टाँस्ने गतिविधिमा सहभागी भएको बताए। शनिबार बेलुका पक्राउ परेका उनले जेनजी आन्दोलनकै आधारमा अन्तरिम सरकार गठन भए पनि युवाहरूका माग पूरा नभएको आरोप लगाए।
उनका अनुसार भदौ २३ का घटनाको निष्पक्ष छानबिन अघि नबढाई २४ गतेको प्रदर्शनमा सहभागी भएकामाथि मात्र प्रहरीले कारवाही गरेको छ।
ढुंगानाले भनेका मुख्य कुरा यस्तो छः
आन्दोलनपछि बनेको सरकारले विकास गर्न सक्दैन भने भविष्यका कुनै सरकारबाट पनि आशा गर्न नसकिने उनले टिप्पणी गरे। “आन्दोलनलाई बेइज्जत नगरिदिनुहोस्, प्रधानमन्त्रीज्यू। तपाईंले गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोस्।