जनकपुरधाम
संघीयता लागू भएको आठ वर्षको अवधिमा मधेस प्रदेशले सबैभन्दा धेरै राजनीतिक अस्थिरता बेहोरेको देखिन्छ। यस अवधिमा प्रदेशका पाँच जिल्लाबाट छ–छ जना फरक व्यक्ति मुख्यमन्त्री बनेका छन्। पछिल्लो दुई महिनामै तीनपटक सरकार परिवर्तन भएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव छैटौँ मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गर्न लागेका हुन्।
२०७४ देखि २०७९ सम्मको पहिलो कार्यकाल तुलनात्मक रूपमा स्थिर रहे पनि दोस्रो कार्यकाल गठबन्धन फेरबदल, आन्तरिक विवाद र सत्ता समीकरणको उतार–चढावले अत्यन्तै अस्थिर बन्यो। यही राजनीतिक हलचलबीच रौतहटका कांग्रेस नेता यादवले नेतृत्व सम्हाल्ने तयारी गरेका हुन्।
संघीयतापछिको आठ वर्षमा मधेस प्रदेशमा पर्साका लालबाबु राउतले पहिलो मुख्यमन्त्रीका रूपमा पाँच वर्षे कार्यकाल पूरा गरे। दोस्रो कार्यकालमा बाराका सरोजकुमार यादवले नेतृत्व लिए। त्यसपछि तेस्रो मुख्यमन्त्रीका रूपमा जनमत पार्टीका सतीशकुमार सिंह आए। चौथो पटक लोसपाका बाराका जितेन्द्र सोनल मुख्यमन्त्री बने। पाँचौँ मुख्यमन्त्रीको रूपमा महोत्तरीका एमाले नेता सरोजकुमार यादव नियुक्त भए। यस अवधिमा सभामुख रामचन्द्र मण्डलसमेत पदमुक्त भइसकेका छन्।
नवनियुक्त मुख्यमन्त्री यादवलाई आज प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शपथ गराउने कार्यक्रम राखिएको छ। शपथअघि गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डा मिलाउन सर्वदलीय बैठक जारी छ। सहमति जुटेपछि मात्र मन्त्रिपरिषद् गठनसहित शपथ प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
यदि अन्तिम सहमति नजुटे पनि कम्तीमा मुख्यमन्त्रीसहित केही विनाविभागीय मन्त्रीलाई शपथ गराउने आन्तरिक तयारी गरिएको स्रोतले बताएको छ। यादवलाई कांग्रेस, जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी गरी ७७ सांसदको समर्थन प्राप्त छ।