जनकपुर
नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।
शुक्रबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। कांग्रेसका प्रदेशसभा सदस्य रहेका यादवले आवश्यक समर्थन जुटाएपछि सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।
मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) गरी छ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवलाई मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको उल्लेख गरिएको छ।
