त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ।
छ खेलबाट ६ अंक जोडेको लुम्बिनी लायन्सका लागि आजको खेल ‘करो–या–मरो’ जस्तै बनेको छ। तालिकाको चौथो स्थानमा रहेको लुम्बिनीले प्लेअफमा प्रवेश गर्न जनकपुरलाई अनिवार्य रुपमा हराउनै पर्ने दबाब छ। लुम्बिनीले हालसम्म तीन खेल जितेको र तीन खेल हारेको छ।
यदि आज लुम्बिनीले जित दर्ता गर्न सफल भयो भने ऊ प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ। तर हारको स्थिति आयो भने ६ अंकमा रोकिँदै अन्य टिमको परिणामले प्लेअफ समीकरण तय गर्नेछ।
पाँचौँ स्थानको पोखरा एभेन्जर्स र छैटौँ स्थानको चितवन राइनोजले समान ४–४ अंक जोडेका छन्। बिहीबार दुवै टिमले भोगेको हार उनीहरूको लागि महँगो साबित भएको छ। लिग चरणको अन्तिम खेलमा यी दुई टिम एक–अर्कासँग भिड्ने छन्, र यदि आज लुम्बिनी पराजित भयो भने त्यो खेलको विजेता प्लेअफमा पुग्ने बलियो दावेदार बन्नेछ।
यसैबीच सातौँ स्थानमा रहेको कर्णाली भने प्लेअफ प्रतिस्पर्धाबाट पहिले नै बाहिरिएको छ।




