मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि बसेको सात दलको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै पक्षले मुख्यमन्त्रीको नेतृत्व नछाडेपछि सहमति बन्न नसकेको हो।
जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकमा कांग्रेस, जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसदहरू सहभागी थिए। तर, नेतृत्वको विषयमा मिल्ने संकेत देखिएन।
मुख्यमन्त्रीका प्रमुख दाबेदार कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका जितेन्द्र सोनलले विभिन्न दलसँग छुट्टाछुट्टै संवाद गर्दै समर्थन खोजिरहेका छन्। कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले अरू सबै दलले नेतृत्व सम्हालेकाले अब कांग्रेसको दाबी स्वाभाविक रहेको तर्क गरे।
लोसपाका सोनलले पिछिल्लो सरकार ढल्नुमा अन्य दलहरूको भूमिका रहेको भन्दै अहिले आफूलाई फेरि मौका दिनुपर्ने माग राखेका छन्। जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले सात दलबीच एकता आवश्यक रहेको र अझै औपचारिक सहमति नभएको बताए।
दलहरूबीच सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको छ। कांग्रेस र लोसपालाई छुट्टै छलफल गर्न समय दिइएको र आजै राति भए पनि सात दल पुनः बस्ने योजना रहेको जसपाका यादवले जानकारी दिए।
प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार शुक्रबार बेलुका ५ बजेसम्म सरकार गठनका दाबी पेश गर्न समय दिएका छन्। हालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको हो।
