प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने आम निर्वाचन निर्धारित समयमै सम्पन्न गरी देशको नेतृत्व युवा पुस्ताको हातमा सुम्पिने लक्ष्यसहित सरकार पूर्ण तयारीमा जुटेको बताएकी छन्।
वसन्तपुरमा आयोजित २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले सरकारले घोषित मितिमै चुनाव गराउने दायित्व गम्भीरतापूर्वक पूरा गरिरहेकाले यस अभियान सफल बनाउन सबै नेपालीको साथ आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार, “फागुन २१ गते आम निर्वाचन सम्पन्न गरी युवा शक्तिको हातमा सत्ता हस्तान्तरण गर्दै देशलाई तीव्र विकासतर्फ डो–याउने हाम्रो दायित्व हो। त्यसैले सरकारले तयारीलाई अन्तिम रूप दिइरहेको छ र सबैको सहयोग अपेक्षित छ।”
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनबाट प्राप्त सन्देशले युवाहरूको माग– भ्रष्टाचार अन्त्य, सुशासन पुनःस्थापना र रोजगारी सिर्जना–लाई सबैले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।
उनले भनिन्, “भदौ २३ र २४ को आन्दोलनले युवाहरूका वास्तविक चाहना स्पष्ट भएको छ। ती पूरा गर्न सबै क्षेत्रबाट प्रतिबद्धता आवश्यक छ।”
कार्यक्रममा उनले काठमाडौंमा परम्परागत संस्कृति, चाडपर्व र गुठी प्रणालीको संरक्षणमा स्थानीय तह र गुठीहरूको महत्त्वपूर्ण भूमिका रहनेतर्फ पनि ध्यानाकर्षण गराइन्।