नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। आज बिहान गरिएको घोषणामा उनले पार्टी अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई पूर्ण समर्थन जनाउँदै उपमहासचिव पदमा आफू सशक्त दावेदार रहेको स्पष्ट पारे।
पूर्वमन्त्री समेत रहेका तामाङले कार्यकर्तासँग समर्थन र सुझावको अपिल गर्दै भने, “केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ, हजुरहरूको साथ सदैव रहनेछ भन्ने आशा गर्दछु।”
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौं उपत्यकामा हुँदैछ। महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयनका विषयमा तीव्र प्रतिस्पर्धा देखिएको छ।
महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। अध्यक्ष ओलीले सके सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न इच्छुक रहेको बताउँदै, आवश्यक परे प्रतिस्पर्धालाई नरोकिने स्पष्ट पारेका छन्। पोखरेलले आफ्नो प्यानल समेत तयार गर्दै अघि बढिरहेका छन्।
अहिलेकै अधिकांश पदाधिकारीहरूले पनि पार्टीको वर्तमान अवस्था र राष्ट्रिय राजनीतिक सन्दर्भमा ओलीलाई नै पुनः अध्यक्ष बनाउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।
यसअघि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पनि अध्यक्षमा ओलीलाई समर्थन गर्ने बताउँदै आफू अध्यक्ष र महासचिव पदमा नउठ्ने घोषणा गरेका थिए।