काठमाडौं : सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो।
फैसाला अनुसार, मुख्यमन्त्री नियुक्तिको विषयमा अनावश्यक ढिलाइ हुन नहुने भन्दै अदालतले मुख्यमन्त्री यादवलाई नेपाली संविधानको धारा १६४(४) बमोजिम विश्वासको मत लिने प्रस्ताव मधेश प्रदेशसभामा २४ घन्टाभित्र पेश गर्न निर्देश गरेको छ। निर्णयमा भनिएको छ–
“आदेश प्राप्त भएको मितिदेखि २४ घन्टाभित्र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गरी निर्णयार्थ गराउनू। विश्वासको मत प्राप्त भएमा सोही बमोजिम र प्राप्त नभएमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन वा मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा आवश्यक पहल गर्नू।”
सर्वोच्चले उक्त आदेश तत्काल कार्यान्वयनयोग्य भएको उल्लेख गरेको छ। आदेशको पूर्ण पाठ तयार गर्न समय लाग्ने भएकाले अहिले संक्षिप्त आदेश मात्र जारी गरिएको जनाएको छ।
यो रिट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदहरूले दायर गरेका थिए। रिटमा मधेश प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री सरोज कुमार यादव, प्रदेशसभा सभामुख रामचन्द्र मण्डललगायतलाई विपक्षी बनाइएको छ।