ट्रेन्डिङ

Logout

नख्खु जेलबाट रवी का पाँच सन्देशले कडा बनाए एकता–संवाद, कुलमानसँगको सहमति टाढिँदै

3k Shares

प्रतिनिधि सभा चुनाव नजिकिँदै जाँदा परम्परागत दल र नयाँ शक्तिबीच प्रतिस्पर्धा बढिरहेको छ। स्थापित संरचना र संगठनका कारण पुराना दलहरू चुनावमा सहज देखिन्छन् भने नयाँ शक्तिहरू भने अझै संगठन निर्माणमै व्यस्त छन्।

अघिल्लो चुनावमा शक्तिशाली उदय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जेल परेपछि चुनौतीमा परेको छ। पार्टीलाई नेतृत्व दिने र विभिन्न वर्गका मतदातालाई आकर्षित गर्ने व्यक्तिको आवश्यकताबीच रास्वपाले ऊर्जा क्षेत्रका चर्चित नाम कुलमान घिसिङलाई भित्र्याउन खोजिरहेको छ।

तर घिसिङले कार्यकारी सभापतिको जिम्मेवारी पाउनुपर्ने अडान राखेपछि कुरा मिलेन। त्यसपछि उनले अनुपकुमार उपाध्याय नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ (उनेपा) दर्ता गरे, जसले रास्वपामाथि थप दबाब सिर्जना गर्यो। काठमाडौँका मेयर बालेन्द्र शाहको समर्थन भएकाले पनि घिसिङसँग मिलेर जानुपर्ने दबाब रविमाथि छ।

यता घिसिङको पक्षले पनि स्थापित चिह्न र संरचना भएकै कारण रास्वपासँग एकता गर्न सकिने विश्वास राखेको छ। दुबै पक्षका विश्वासिला नेताहरूले निरन्तर संवाद गरिरहे पनि रविका केही कडा अडानले सहमतिको वातावरण गम्भीर बन्दै गएको उनेपा पक्षको भनाइ छ।

नख्खु जेलमै रहेका रवी र मन्त्री कुलमानबीच प्रत्यक्ष भेट हुन नसके पनि दुवै पक्षका नेतामार्फत पाँच वटा मुख्य सन्देश आदानप्रदान भएका छन्, जसले एकताका सम्भावनालाई प्रभावित बनाइरहेछ—

१. ‘पार्टी सभापति कसैलाई दिँदिन’

बालेन्द्र शाहका प्रतिनिधिहरूले मुद्दा टुंगिएसम्म सभापति जिम्मेवारी कुलमानलाई दिन आग्रह गरे पनि रवीले अस्वीकार गरेका छन्।
घिसिङले पनि कार्यकारी सभापतिबाहेक अरू विकल्प नहुने भन्दै स्पष्ट सन्देश पठाएपछि उनले छुट्टै पार्टी गठन गरेका हुन्।
पछि वार्ताका क्रममा कुलमान पक्ष केही लचक भए पनि ‘दुई सभापति’ को प्रस्ताव समेत रवीले अस्वीकार गरे।

२. ‘रास्वपाको नाम र चिह्न परिवर्तन हुँदैन’

एकता भए पनि पार्टीको नाममा ‘उज्यालो नेपाल’ थप्ने वा चुनाव चिह्न परिवर्तन गर्ने प्रस्ताव रवीले नमान्ने बताएका छन्।
उनका अनुसार रास्वपाको लोकप्रियता र पहचान नाम र चिह्नमै अडिएको छ।

३. ‘कुलमान आफैँ जेलमै आएर कुरा गर्नुपर्छ’

थरिथरीका सन्देश र मागहरू नेतृत्व हुँदै जेलमा आउनेक्रम बढेपछि निर्णायक वार्ता गर्न कुलमान आफैँ नख्खु जेल जानुपर्ने सन्देश रवीले पठाएका छन्।
रवीका अनुसार शक्तिशाली मन्त्री भएर पनि कुलमानले आफूलाई भेट्न नआएकोले विश्वासको वातावरण कमजोर बनेको छ।

४. ‘रिहाईका लागि कुलमान र सरकारबाट पहल होस्’

सरकारमा बसेर पनि आफूलाई जेलमुक्त गराउन कुलमानले पहल नगरेको भन्दै रवी असन्तुष्ट छन्।
जेनजी आन्दोलनपछि बनेको सुशीलाको नेतृत्वमा घिसिङ शक्तिशाली तीन मन्त्रालय सम्हालिरहेका हुँदा पनि मुद्दामा सहजीकरण नभएको रवीको गुनासो छ।

५. ‘प्रधानमन्त्री उम्मेदवार मान्न तयार’

सभापति नदिए पनि आगामी चुनावमा कुलमानलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सार्न रवी तयार भएको सन्देश दिएका छन्।
उनेपा पक्षले यसलाई सकारात्मक कदम मानेर वार्ता अघि बढाइरहेको छ।

दुवै पक्षबीच निरन्तर संवाद भइरहे पनि रास्वपाका केही अडानका कारण एकताको प्रक्रिया अड्किएको उनेपा पक्षको आरोप छ।
रवीले पनि हालै ‘एउटै पार्टी बनाउन नसकिए गठबन्धन सम्भव छ तर रास्वपा फुटाउने प्रयास नगर्नू’ भन्दै स्पष्ट सन्देश पठाएका छन्।

यसरी, नख्खु जेलका सन्देशहरूले रास्वपा–उनेपाबीचको सहकार्य सम्भावनालाई अझ जटिल बनाइरहेको देखिन्छ।

 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार