विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको छ।
ललितपुर:
ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा बुधबार बिहान ना.३ ख ४७४५ नम्बरको ट्रक र बा.प्र. ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक २२ वर्षीय सुशान्त बस्नेतको मृत्यु भएको छ।
उनी काठमाडौँ कीर्तिपुर नगरपालिका–५ भत्केको पाटी घरका हुन्। गम्भीर घाइते बस्नेतलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।
तनहुँ:
घिरिङ गाउँपालिका–४ रामकोटस्थित सडकमा लु. ५२ प. १५२ नम्बरको मोटरसाइकल र लु. १ क ३९५४ नम्बरको टिपर ठक्कर खाँदा ५५ वर्षीय बुद्धिबहादुर चन्दको मृत्यु भएको छ।
उनी भिमाद नगरपालिका–३ माझकोट घरका थिए। गम्भीर घाइते चन्दलाई प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



