बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध प्रजातन्त्रवादी बुद्धिजीवीहरूले नेपाली कांग्रेसलाई आगामी आम चुनाव अगावै महाधिवेशन गरेर नयाँ नेतृत्व र नीति सहित जनताको माझ जान आह्वान गरेका छन्।
शुक्रबार प्रकाशित विज्ञप्तिमा उनीहरूले विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले आफूलाई रुपान्तरण गर्ने वाचा गर्नुपर्ने उल्लेख गरेका छन्। नयाँ नीति, कार्यक्रम र योजना सहित पार्टीलाई सुदृढ बनाउनुको महत्व पनि उनीहरूले जोड दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “२०८२ फागुन २१ मा तोकिएको आम चुनावभन्दा अगावै १५औँ महाधिवेशन आयोजना गर्न आवश्यक छ। परिवर्तनलाई आत्मसात नगरी र पार्टीलाई शुद्धिकरण नगरी चुनावमा गएमा ठूलो क्षति हुनेछ। यसले राष्ट्रिय एकता र सार्वभौमिकतामा खलल पुर्याइ मुलुकलाई द्वन्द्वमा फस्न सक्ने खतरा देखिन्छ।”
यस्तै, सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित गत सेप्टेम्बरमा जेन जि पुस्ताले गरेको आन्दोलनले समाज र राजनीतिमा सुधारको सन्देश दिएको उल्लेख गर्दै, मूलधारका दलहरूले आएको ठूलो परिवर्तनलाई आत्मसात गर्न आनाकानी गरिरहेको बताएका छन्।
विज्ञप्तिमा नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री विश्व आदर्श पण्डित, डा सम्पूर्णानन्द ढुंगाना, गजेन कटुवाल, डा बच्चु कैलाश कैनी, डा चण्डिका भट्ट, इराम राज शर्मा, शान्त विनोद लामिछाने, बिजन भट्ट, वेदराज पराजुली लगायतका व्यक्तिहरूको हस्ताक्षर उल्लेख गरिएको छ। उनीहरूले बीपी कोइरालाद्वारा नेतृत्व गरिएको कांग्रेसले अलमल नगरी यथाशीघ्र देशलाई स्पष्ट दिशा निर्देश दिने निर्णय गर्न आग्रह गरेका छन्।