मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ। प्रदेश प्रमुखले दिउँसो ३ बजेका लागि बैठक बोलाए पनि गठबन्धनका दलहरूले बैठकमा सहभागी नहुने घोषणा गरे।
गठबन्धनका अनुसार असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ लिएका वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव एमाले संसदीय दलका नेता भएकै हैसियतमा बैठकमा आउने भएपछि उनीहरूले बैठक बहिष्कार निर्णय गरेका हुन्।
यसअघि, पूर्वमुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले मधेश भवनको प्राङ्गणमै प्रदेशसभा सञ्चालन गरेकी थिइन्।
सात दलले सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविपरीत काम गरेको भन्दै उनको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। अविश्वास प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका थिए।
यसैबीच सात दलीय गठबन्धनका कार्यकर्ताहरूले जनकपुरमा विरोध प्रदर्शनसमेत गरेका छन्।