सरकारले भदौ २३ र २४ गतेका ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई चार प्रकारमा वर्गीकरण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राविधिक समितिले घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी वर्गीकरण गरेको हो। मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको थियो।
विभाजन अनुसार अति गम्भीर घाइते २३ जना, गम्भीर २१ जना, मध्यम २३ जना र सामान्य ११ जना रहेका छन्। घाइतेको वर्गीकरण चोटपटकको आधारमा गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ र सबै जिल्ला प्रशासन कार्यालयलाई घाइते वर्गीकरणको काम सम्पन्न गर्न निर्देशन दिइसकेको छ। हालसम्म २,५७२ जना घाइतेमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ।