मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ। उनी पदीय गरिमा विपरीत बर्दिवासको एक होटलमा बसेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएपछि पद गुमाएकी हुन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ।
प्रदेश प्रमुख पदलाई राष्ट्रपति जस्तै गरिमामय मानिने भएकाले भण्डारीले संवैधानिक जिम्मेवारी बिर्सी बाहिर गएर यस्तो कदम चाल्दा मधेश प्रदेशमा तनाव उत्पन्न भएको थियो। उनले संविधान र कयौं नजीरको विपरीत प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
