जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ ले राष्ट्रव्यापी रूपमा सञ्चालन हुन गइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सबै प्रदेशवासी, स्थानीय तह र सरोकारवालाहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी विज्ञप्ति अनुसार, कार्तिक २० र २१ गते देशभर एकसाथ सञ्चालन हुने यस कार्यक्रममा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहनेछ।
कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि (अलवेन्डाजोल ट्याबलेट) खुवाइनेछ।
मुख्यमन्त्री सोनारले प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सम्पूर्ण निकाय, स्थानीय सरकार र समुदायलाई अभियानमा समन्वयपूर्वक साथ दिन अनुरोध गर्दै यो अभियानले बालबालिकामा कुपोषण, रगतअल्पता, दृष्टि समस्या र जुकाको संक्रमण घटाउनेमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।