सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोहमस टोलमा झाडापखालाका बिरामी देखिएपछि प्रदेश सरकार गम्भीर बनेको छ । मिति २०८२ साल कात्तिक १५ गतेदेखि सो क्षेत्रमा बिरामी देखिन थालेपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले महामारी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सोनलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव, सप्तरीका प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरी र स्वास्थ्य कार्यालय सप्तरीका प्रमुखसँग प्रत्यक्ष छलफल तथा टेलिफोन वार्ता गरी आवश्यक योजना र तत्कालीन कार्यान्वयनका उपायहरूमा जोड दिएका छन् ।
उनले संक्रमितहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, औषधि, रोग परीक्षणका उपकरण र अन्य आवश्यक स्वास्थ्य सामग्री तुरुन्त उपलब्ध गराउन निर्देशन दिएका छन् ।
त्यस्तै, मुख्यमन्त्री सोनलले प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकहरूलाई पनि आवश्यक स्रोत–साधन परिचालन गर्न र महामारी फैलिन नदिन सर्वसाधारणबीच जनचेतनामूलक कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न आदेश दिएका छन् ।
प्रदेश सरकारले झाडापखालाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक परेमा स्वास्थ्य विज्ञ टोलीसहित जनशक्ति परिचालन गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।
मुख्यमन्त्री सोनलले भने, “जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता हो। प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि सबै आवश्यक सहयोग र स्रोत–साधन उपलब्ध गराउन प्रतिबद्ध छ।”