देवानगञ्ज गाउँपालिका वडा नं. २ मा अवस्थित ऐतिहासिक काली मन्दिरमा यस वर्ष पनि लक्ष्मी पुजा तथा शुभ दिपावलीको पावन अवसरमा भव्य कलश यात्रा सम्पन्न भएको छ । धार्मिक श्रद्धा र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको उक्त यात्रामा १०५१ बाल–कुमारी महिलाहरूले भाेकै बसी कलश यात्रा निकालेका थिए ।

काली मन्दिरबाट प्रारम्भ भएको कलश यात्रामा सहभागी महिलाहरूले करिब ३ किलोमिटर दूरी पैदल यात्रा गरी नजिकैको बुढी खोला पुगेका थिए, जहाँबाट पवित्र जल भरी पुनः मन्दिर परिसरमा कलश अर्पण गरिएको थियो ।
कलश यात्रामा करिब पाँच हजारभन्दा बढी भक्तजन, कलश यात्री, साधु–सन्त, स्थानीयवासी तथा विभिन्न क्षेत्रका श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो । साथै, सांस्कृतिक झाँकी, भजन–कीर्तन तथा बाजागाजासहितको सो यात्रा हर्षोल्लासका साथ सम्पन्न भएको काली मन्दिर पूजाअनुष्ठान समितिका अध्यक्ष मनोज भगतले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. २ का अध्यक्ष जगन्नारायण मेहता, वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहता, नेपाली काँग्रेसका नेता श्यामलाल मेहता, इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्ट, कप्तानगञ्ज शसस्त्र प्रहरी बलका प्रतिनिधि, जिरोगुवा प्रहरी चौकीका सम्पूर्ण सुरक्षाकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
धार्मिक एकता, सांस्कृतिक संरक्षण र समाजिक सद्भाव प्रवर्द्धनका उद्देश्यसहित आयोजना गरिएको उक्त कलश यात्राले सम्पूर्ण क्षेत्रमा उत्साह र उल्लास थपिदिएको छ ।