Logout

यस वर्ष ‘सर्वोत्कृष्ट’ देखि ‘उत्कृष्ट’सम्म कुनै निजामतीलाई पुरस्कार दिइएन

4.6k Shares

सरकारले यस वर्ष निजामती सेवा दिवसको अवसरमा कुनै पनि कर्मचारीलाई पुरस्कार दिन सकेन। त्यसैले पुरस्कार पाउने कर्मचारीहरुको नामावली सार्वजनिक गरिएको छैन।

यद्यपि, अघिल्लो वर्ष छनोट भएका कर्मचारीहरुलाई भने यस वर्ष पुरस्कार प्रदान गरिएको छ। परम्पराअनुसार सरकारले भदौ २२ गते मनाइने निजामती सेवा दिवसको अवसरमा १ जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कार दिने गर्दथ्यो। यो छनोट वर्षभरको कामको मूल्याङ्कनका आधारमा हुने गर्थ्यो।

दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती पुरस्कार भने सरकारले २०७३ सालपछि कसैलाई पनि दिएको छैन। सो वर्ष तत्कालीन सचिव शान्तराज सुवेदीले उक्त पुरस्कार पाएका थिए। त्यसयता सरकारले ‘सर्वोत्कृष्ट’ योग्य कर्मचारी नभेटिएको भन्दै पुरस्कार रोक्दै आएको छ।

तर एक लाख रुपैयाँको उत्कृष्ट र ५० हजार रुपैयाँको निजामती पुरस्कार भने हरेक वर्ष घोषणा गरिँदै आएको थियो, जसको नामावली गोरखापत्र दैनिकमा प्रकाशित हुन्थ्यो। तर यसपटक त्यो नामावली सार्वजनिक भएको छैन।

नेपाल पुलिस क्लबमा आयोजित मुख्य समारोहमा मुख्य सचिव एकनारायण अर्यालले विगतका वर्षजस्तै छिट्टै पुरस्कार घोषणा हुने बताएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पनि यस वर्ष पुरस्कार घोषणा नगरिएको पुष्टि गरे तर कारण खुलाएनन्।

यसपालि अघिल्लो वर्ष छनोट भएका कर्मचारीहरुलाई उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली विधान महाधिवेशनमा व्यस्त भएकाले कार्यक्रममा सहभागी हुन सकेनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार