ट्रेन्डिङ

Logout

"मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल राजधानीमा, पत्रकार महासंघको आपत्ति"

4.4k Shares

मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल राजधानी काठमाडौंमा गर्न लागिएको भन्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले कडा आपत्ति जनाएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आफ्नो ह्वाट्सएप ग्रुपमार्फत दिएको जानकारीअनुसार आज बिहीबार कोटेश्वरस्थित एक रेष्टुरेन्टमा परामर्श गोष्ठी आयोजना गरिएको छ। तर यसबारे प्रमुख सरोकारवाला नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र आठवटै जिल्ला शाखालाई औपचारिक जानकारी नदिइएको महासंघका मधेश महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ– प्रदेशमै सञ्चार क्षेत्रमा सक्रिय रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र तिनका संघ–संस्थालाई सहभागी नगराई राजधानीमा छलफल आयोजना गर्नु आफैंमा गम्भीर विषय हो र यसले नियतप्रति शंका उत्पन्न गरेको छ।

महासंघले राजधानीमा हुने छलफललाई बजेटको दुरुपयोग ठहर गर्दै सरोकारवालाको सहभागिता र सहमति बिना अघि बढाइने संशोधन प्रस्तावलाई अस्वीकार्य बताएको छ।

संविधान २०७२ र सञ्चार–पत्रकारिता सम्बन्धी कानूनी प्रावधान विपरीत हुने कुनै पनि संशोधन कदम स्वीकार्य नहुने चेतावनी पनि महासंघले दिएको छ।

महत्वपूर्ण ऐन संशोधन प्रक्रियामा सरोकारवालालाई पाखा लगाएर राजधानीमा हुने छलफल औचित्यहीन रहेको महासंघको ठहर छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार