जिल्ला अदालत बागलुङमा सरुवा भई आउनुभएकी न्यायाधीश सीता शर्मा अधिकारीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ। उहाँ बागलुङ जिल्ला अदालतमा नियुक्त हुने पहिलो महिला न्यायाधीश हुनुहुन्छ। स्वागत कार्यक्रम उच्च अदालत बार एसोसिएसन बागलुङले आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै न्यायाधीश अधिकारीले न्याय सम्पादनलाई चुस्त र प्रभावकारी बनाउन बार र बेञ्चबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “बार र बेञ्च मिलेर नागरिकलाई न्याय दिनुपर्छ। कार्यविधिगत त्रुटि भएमा बारले सच्याउने अवसर दिनुपर्छ। क्षमताले भ्याएसम्म न्याय दिनु नै मेरो मुख्य काम हुनेछ।”
वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले बागलुङमा पहिलोपटक महिला न्यायाधीशको आगमन ऐतिहासिक भएको उल्लेख गर्दै बारको अध्यक्ष पनि महिला भएकाले न्यायालय अझै सहज र महिलामैत्री हुने विश्वास व्यक्त गर्नुभयो।
अधिकारी जिल्ला अदालत मोरङबाट सरुवा भई बागलुङ आउनुभएको हो। यसअघि बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारी रुपन्देही सरुवा हुनु भएको थियो।