ट्रेन्डिङ

Logout

सुडानमा भीषण पहिरो : १,००० भन्दा बढीको मृत्यु, एकजनामात्र जीवित

4.8k Shares

सुडानको पश्चिमी क्षेत्र मर्रा पर्वतमा गएको भीषण पहिरोमा कम्तीमा १,००० जनाको ज्यान गएको सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ।

बीबीसीका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षापछि ३१ अगस्टमा पहिरो गएर तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको हो। संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्।”

विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूसँग मृतकहरूको उद्धार तथा राहतका लागि सहयोग माग गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेको बताइएको छ।

तीन वर्षदेखि चलिरहेको गृहयुद्धले पहिल्यै मानवीय संकटको सामना गरिरहेको सुडानमा यो प्राकृतिक विपत्ति थपिएको हो। अल जजिराका अनुसार दारफुरका केही भागमा भोकमरी घोषणा भइसकेको छ भने रोयटर्सका अनुसार खाद्यान्न र औषधिको अभाव गहिरिँदो छ।

सुडान लिबरेशन मुभमेन्ट/आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा पहिरो गएको हो। यो समूह सुडान सेनासँग मिलेर अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (RSF) विरुद्ध लडिरहेको छ। युद्धकै कारण उत्तर दारफुर राज्यका धेरै बासिन्दा मर्रा पर्वत क्षेत्रमा शरण लिन पुगेका थिए।

अप्रिल २०२३ देखि सुरु भएको गृहयुद्धले देशलाई भोकमरी र जातीय हिंसातर्फ धकेलेको छ। एक अमेरिकी अधिकारीका अनुसार यस युद्धमा करिब १.५ लाख मानिसको मृत्यु भइसकेको अनुमान छ भने करिब १.२ करोड मानिस आफ्नो घरबार छोड्न बाध्य भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार