Logout

एक महिनामा १७४ नेपालीको शव फर्कियो

3.6k Shares

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीहरूको मृत्यु दर दिनानुदिन बढ्दो क्रममा छ। धन कमाएर परिवारलाई सुखमा राख्ने सपना बोकेर विदेशिने धेरै नेपालीहरू अन्ततः बाकसमा फर्कन बाध्य हुने अवस्था अझै पनि कायम छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तथ्यांकअनुसार साउन महिनामा मात्रै १७४ नेपालीको शव विदेशबाट ल्याइएको छ। यो औसतमा हरेक दिन ४ देखि ५ जना नेपालीको शव स्वदेश आउने आँकडा हो।

कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायत मुलुकमा मृत्यु भएका नेपालीहरूको शव नेपाल भित्र्याइएका हुन्।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र एक हजार २५५ नेपाली श्रमिकको मृत्यु भएको थियो। यो संख्या श्रम स्वीकृति लिएर विदेश गएका र मृत्यु भएपछि बोर्डमार्फत आर्थिक सहायता पाएका परिवारका आधारमा संकलन गरिएको हो।

यस्तै, प्रहरीको मुचुल्का अनुसार सोही वर्ष १,४०१ जना नेपालीले विदेशमै ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो संख्या अझ बढी रही १,४५५ पुगेको थियो।

श्रम विशेषज्ञहरूले सरकारले वैदेशिक रोजगारीका लागि जाने प्रक्रिया अझ सुरक्षित बनाउनुपर्ने, नियमित स्वास्थ्य परीक्षण र आकस्मिक सहायता प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार