ट्रेन्डिङ

Logout

उपसभामुख हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति छैनः मन्त्री गुरुङ

3.8k Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पार्नुभएको छ।

शुक्रबार पोखरामा प्रेस चैतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले “उपसभामुख हटाउने चर्चा भए पनि गठबन्धनमा सहमति भएको छैन” भन्नुभयो। उहाँका अनुसार परिस्थितिअनुसार सहमति भएमा मात्र उपसभामुख परिवर्तन हुनसक्नेछ। “रास्वपा सरकारमा हुँदा उहाँ उपसभामुख बन्नुभएको हो, अहिले परिस्थिति फेरिएको छ। गठबन्धनमा सहमति भयो भने परिवर्तन हुन्छ,” मन्त्री गुरुङले बताउनुभयो।

यद्यपि, उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गर्ने तयारी भए पनि अन्तिम समयमा कांग्रेस र एमाले पछि हटेको समाचार आएको छ।

सञ्चार मन्त्रालयसँग सम्बन्धित कानुनलाई समयानुकूल संशोधन गर्ने तयारी भइरहेको जानकारी दिँदै मन्त्री गुरुङले “सञ्चार मन्त्रालयअन्तर्गतका सबै कानुनलाई परिस्थिति अनुसार परिमार्जित गरिनेछ” भन्नुभयो।

सोसल मिडियाबारे पनि उहाँले सरकार नियन्त्रण होइन, नियमन गर्न मात्र चाहेको स्पष्ट पार्नुभयो। “सामाजिक सञ्जालमा देखिएका विकृति रोक्नका लागि सरकारले नियमन विधेयक ल्याउन लागेको हो,” उहाँले भन्नुभयो। साथै, साइबर अपराध विश्वकै चुनौती भएको भन्दै नेपालभित्र हुने साइबर अपराध रोक्न कानुन बनाउन लागिएको उल्लेख गर्नुभयो।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले गण्डकी प्रदेश सरकारले आफ्ना कार्यालय खारेज गर्ने निर्णय संघीयताको मर्मविपरीत रहेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार, मन्त्रालय घटाएको भए उपयुक्त हुने तर कार्यालय खारेज गर्नु उल्टो बाटोमा हिँड्न खोज्नुजस्तै भएको हो।

पत्रकार सम्मेलन प्रेस चैतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार