ट्रेन्डिङ

Logout

सरदार भीमबहादुर पाँडेको योगदान स्मरण गर्दै हुलाक टिकट जारी

4.2k Shares

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत देशभक्त र राष्ट्रसेवकहरूको योगदान उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ।

काठमाडौँमा हुलाक सेवा विभागले आयोजित कार्यक्रममा सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले भन्नुभयो, “हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ।”

सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताका सन्तति हुनुहुन्छ र भारतबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत हुनुहुन्छ। प्रशासन, कूटनीति, लेखन र समाजसेवामा उहाँले गरेको योगदानको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन हुनु ठुलो उपलब्धि भएको मन्त्री गुरुङले बताउनुभयो। यसले अग्रजको सम्मान गर्ने र युवा पुस्तालाई प्रेरित गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

हुलाक सेवा विभागले हालै देशभक्त, राजनीतिज्ञ, र समाजमा लोपोन्मुख भएका रैथाने बाली, संस्कृति, परम्परा तथा जनजीवनसम्बन्धी विषयलाई पनि हुलाक टिकटमार्फत प्रचार गर्ने काम थालेको जानकारी दिइयो।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्ती र छोराछोरी उपस्थित थिए। उहाँका माइला छोरा हिमालय पाँडेले हुलाक टिकट प्रकाशनले राष्ट्रबाट परिवार नै सम्मानित भएको महसुस भएको बताउनुभयो।

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, सङ्घर्ष र योगदानले सधैं प्रेरित गरेको अनुभव सुनाउनुभयो। उहाँले नेपालको प्रशासनिक क्षेत्रमा देखाइएको कुशलता र बुद्धिमत्ताले आगामी पुस्ताका लागि महत्वपूर्ण पाठ बनेको धारणा व्यक्त गर्नुभयो।

विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार भीमबहादुर पाँडे जस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट केवल कागज नभई सिङ्गो मुलुकको ऐतिहासिक दस्तावेज भएको बताउनुभयो। उहाँले राष्ट्रमा योगदान पुर्‍याएका व्यक्तित्वको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने विभागको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार