Logout

नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु

4.5k Shares

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’का कारण ५२ वर्षीय पुरुषको मृत्यु भएको छ। मृतक मध्यविन्दु नगरपालिका–१ पतवारीका स्थायी निवासी थिए।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार, चालु आर्थिक वर्षमा जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको थियो, जसमध्ये एक जनाको मृत्यु भएको हो भने बाँकी तीन जनाको उपचारपछि घर फर्काइएको छ।

साउन महिनामा मात्र चार जनामा संक्रमण देखिएको छ। तीमध्ये तीन जना कावासोती नगरपालिकाका छन् — ४४ वर्षीया महिला (वडा नं १), ८३ वर्षीया महिला (वडा नं ३), र ५२ वर्षीय पुरुष (वडा नं ६)। उपचारपछि ती तीन जना घर फर्किएका छन् र घरपरिवारमा निगरानी राखिएको छ। पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ।

जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संख्या विगत केही वर्षमा बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा सात जनामा संक्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको थियो। २०८०/८१ मा आठ जनामा संक्रमण पुष्टि भएकोमा एकको मृत्यु भयो भने २०८१/८२ मा दुई जना संक्रमणमा परेका थिए र दुवै निको भएका थिए।

प्रदेश जनस्वास्थ्य कार्यालयले रोग नियन्त्रणका लागि जनचेतनामूलक अभियान सुरु गरेको छ। प्रमुख शैलेन्द्रकुमार सिंहका अनुसार, यो रोग ‘क्युलेक्स’ लामखुट्टेद्वारा सर्ने गर्दछ। यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन्। विशेषगरी धान बालीमा जमेको पानीमा बास गर्ने यी लामखुट्टे साउन, भदौ र असोजमा बढी सक्रिय हुन्छन्।

यस रोगले धेरैलाई गम्भीर बिरामी नबनाए पनि केहीमा दिमागमा असर पु¥याएर मृत्यु हुन सक्छ। लक्षणमा ज्वरो, झाडापखाला, बान्ता, थकान, टाउको दुखाइ, गर्दन दुख्नु र कमजोरी देखिन सक्छ। गम्भीर अवस्थामा छारे रोग, प्यारालाइसिस र अचेत हुने अवस्था पनि देखा पर्न सक्छ।

विश्वव्यापी तथ्यांक अनुसार प्रत्येक वर्ष ५० हजारभन्दा बढी मानिस जापानिज इन्सेफ्लाइटिसबाट सङ्क्रमित हुन्छन् र १०–१५ हजारको ज्यान जाने गर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार