जिल्ला प्रहरी कार्यालय चितवनले गत एक वर्षमा विभिन्न अपराधमा संलग्न १० देखि १८ वर्ष उमेरका ८६ बालबालिकालाई पक्राउ गरेको छ। ती बालबालिका सार्वजनिक कसूर/अभद्र व्यवहार, चोरी, लागुऔषध, ज्यानमार्ने उद्योग, जबरजस्ती करणी, करणी उद्योग, सवारी ज्यान र साइबर अपराधलगायत आठ किसिमका मुद्दामा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरीमा २२, लागुऔषधमा २१, ज्यानमार्ने उद्योगमा ७, जबरजस्ती करणीमा ५, करणी उद्योगमा २, सवारी ज्यानमा २ र साइबर क्राइममा १ बालबालिका पक्राउ परेका छन्।
पुरीका अनुसार पछिल्ला दिनमा विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढ्दो छ। सामान्य पैसा दिएर वा प्रलोभनमा पारी बालबालिकालाई अपराधमा सहभागी गराउने गरेको पाइएको छ। चोरीका घटनामा त बालबालिकालाई तराई क्षेत्रबाट ल्याएर प्रयोग गर्ने गरिएको समेत अनुसन्धानमा खुलेको छ।
यसरी बालबालिकाको दुरुपयोग बढ्दै जाँदा उनीहरूलाई अपराधमा ढकेल्नेहरूमाथि समेत प्रहरीले कारबाही गरिरहेको जनाएको छ।