राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट ‘गोलसिमल’ उपाधि प्राप्त कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको ९० वर्षको उमेरमा आइतबार राति निधन भएको छ। लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित नन्दनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा राति ९ः२५ बजे निधन भएको हो।
२०११ सालमै ‘झटारो’ गीतिसंग्रहमार्फत नेपाली साहित्य र सङ्गीत क्षेत्रमा प्रवेश गरेका नन्दन गजल, कविता र गीत–संगीतका सशक्त स्रष्टा मानिन्थे। उनले ‘अञ्जली’ (२०२३), ‘सपनीबाट ब्यूँझेर’ (२०२३), ‘विपनीका पाइला’ (२०५२), ‘ऐनाभित्रको आकाश’ (२०६३), ‘सिद्धार्थको ग्रहत्याग’ (२०७४) र ‘पत्रम् पुष्पम्’ (२०७७) लगायतका कृति प्रकाशित गरेका थिए। उनका धेरै गीत चलचित्र क्षेत्रमा समेत चर्चित बनेका थिए।
नन्दनले विभिन्न साहित्यिक पत्रिकाहरू सम्पादन गरेका थिए भने राष्ट्रिय गान छनोटमा उनको गीत उत्कृष्ट १० भित्र परेको थियो। तनहुँ बन्दैपुरमा १९९२ साल जेठ १९ गते जन्मिएका उनी पछि चितवन स्थायी बसोबासमा आएका थिए।
जीवनभर साहित्य, सङ्गीत र कलामा सक्रिय रहेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कार, राष्ट्रिय स्रष्टा सम्मानसहित थुप्रै सम्मानबाट विभूषित भएका थिए।
उनको अन्त्येष्टि सोमबार देवघाटमा हुने तय भएको छ भने अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान नारायणी कला मन्दिरमा सार्वजनिक कार्यक्रम राखिएको छ। नन्दनलाई श्रीमती, तीन छोरा र तीन छोरीले बिदा गरेका छन्।